बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सोमबार बिहान भएको दुर्घटनामा बुङ्गल नगरपालिका–१० का चार जनाले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको थियो।
अटोमा चालकसहित छ जना सवार थिए। दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले खोज तथा उद्धारका क्रममा सुरुमा तीन जनाको शव फेला पारेको थियो। थप खोजी गर्ने क्रममा अर्का एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, पाँचदेखि छ वर्षीया डल्ली महरा र चार वर्षीया रियास महरा रहेका छन्।
अटोमा सवार १२ वर्षीय विक्रम महरा भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनी दुर्घटनापछि घर गएका थिए।
दुर्घटनापछि प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
