नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित ३ हजार ४१४ जना सहभागी हुने भएका छन्।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
भेलाको उद्घाटन अध्यक्ष ओलीले गर्नेछन्। उनले समसामयिक राजनीतिक अवस्था, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन्। भण्डारीले पनि समसामयिक राजनीतिक विषय र पार्टीको आगामी कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
भेलामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले संसदीय सङ्घर्ष, विष्णुप्रसाद पौडेलले पार्टी सरकारमा रहँदा भएका काम र उपलब्धिबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्नेछन्।
आगामी स्थानीय तह निर्वाचनको तयारी, राजनीतिक दृष्टिकोणमा एकरूपता र वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको एमालेले जनाएको छ।
पार्टी इतिहासमै पहिलोपटक पालिकादेखि केन्द्रसम्मका नेता तथा सङ्घीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै भेलामा सहभागी गराउन लागिएको एमालेको भनाइ छ। सहभागी सबैलाई स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा पेस गर्न निर्देशन दिइएको छ।
