मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस बिहीबार बिहान करिब ६:१० बजे सडकबाट झन्डै ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला माइक्रोबसमा १५ जना सवार थिए। दुर्घटनामा परेर १० जनाको घटनास्थलमै वा उद्धारका क्रममा मृत्यु भएको विवरण प्राप्त भए पनि मृत्यु भएको स्थानबारे भने पुष्टि हुन बाँकी छ। घाइते पाँच जनालाई उद्धार गरी उपचारका लागि पठाउने तयारी गरिएको छ।
दुर्घटनालगत्तै घटनास्थलमा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले स्थानीयको सहयोगमा उद्धार कार्य जारी राखेका छन्।
सडकबाट निकै तल गाडी खसेका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
दुर्घटनामा मृत्यु हुने तथा घाइते हुनेहरूको पहिचान र अवस्थाबारे थप विवरण आउन बाँकी छ।
