सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी थालेको छ। निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले निर्वाचनको मिति तय गर्ने तयारी गरेको हो।
निर्वाचन आयोगले जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आगामी चैत ५ भित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि आवश्यक १२० दिनको समयलाई ध्यानमा राखेर चैतको मिति प्रस्ताव गरिएको हो। निर्वाचनको उपयुक्त मिति सरकारले तय गर्ने उनले बताएका छन्।
चैत ५ भित्र निर्वाचन सम्पन्न गर्न सरकारले मंसिर पहिलो साताभित्रै मन्त्रिपरिषद्बाट मिति घोषणा गर्नुपर्ने देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएपछि प्रधानमन्त्रीले परामर्श गरेर निर्वाचनको मिति टुंग्याउने तयारी गरेको बताइएको छ। आयोगले यसअघि नै निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूसँग छलफल गरी सरकारलाई सुझाव दिइसकेको छ।
