नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार सही ढंगले सञ्चालन हुन नसके देश र जनताले दुःख पाउने बताएका छन्।
छठ पर्व मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले सरकार सञ्चालन गर्ने र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएको उल्लेख गरे।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउने जिम्मेवारी पाएको छ । उहाँहरूले सरकार चलाउने हो । तर सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ । ढंगले नचलिरहेको बेलामा हाम्रो पनि विशेष जिम्मेवारी छ,’ उनले भने।
थापाले कांग्रेसको मुख्य चिन्ता सरकारमा जाने वा बाहिर रहनेभन्दा पनि देशको समय खेर नजाओस् र जनताले दुःख पाउन नपरोस् भन्ने रहेको बताए।
उनले आगामी पाँच वर्षको समय मुलुकका लागि महत्वपूर्ण रहेको भन्दै सरकारले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए।
