निजामती अध्यादेशदेखि आईजीपी परिवर्तनसम्म : बालेन–रविबीच पाँच घण्टा मन्थन
A
Admin User
निजामती अध्यादेशदेखि आईजीपी परिवर्तनसम्म : बालेन–रविबीच पाँच घण्टा मन्थन
मन्त्रिपरिषद् हेरफेर, नयाँ मुख्यसचिव नियुक्ति र सांसद खगेन्द्र सुनार प्रकरणबारे पनि कुरा भएको स्रोतको दाबी
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच बुधबार लामिछानेको बूढानीलकण्ठस्थित निवासमा लामो छलफल भएको छ।
छलफलमा संघीय निजामती सेवासम्बन्धी अध्यादेश, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निरन्तरता, मन्त्रिपरिषद् हेरफेर, नयाँ मुख्यसचिव नियुक्ति र सांसद खगेन्द्र सुनारसँग जोडिएको प्रकरणलगायत विषयमा कुराकानी भएको स्रोतले दाबी छ।
प्रधानमन्त्री शाह प्रमुख सल्लाहकार कुमार बेनसहित लामिछानेको निवास पुगेका थिए। उनीहरूबीच सरकारका कामकारबाहीको समीक्षा तथा आगामी राजनीतिक र प्रशासनिक निर्णयबारे छलफल भएको बताइएको छ। यद्यपि, भेटका विषयवस्तु र निष्कर्षबारे प्रधानमन्त्री तथा रास्वपा दुवै पक्षले औपचारिक जानकारी दिएका छैनन्।
निजामती अध्यादेशमा मतभिन्नता
छलफलमा संघीय निजामती सेवासम्बन्धी अध्यादेश र त्यसले कर्मचारी प्रशासनमा पार्न सक्ने प्रभावबारे कुरा भएको बताइएको छ। अध्यादेशका कारण ठूलो संख्यामा निजामती कर्मचारी प्रभावित हुन सक्ने चर्चाबीच त्यसबाट सिर्जना हुन सक्ने प्रशासनिक रिक्तता पूर्ति गर्ने र नयाँ मुख्यसचिव नियुक्त गर्ने विषयसमेत उठेको स्रोतको भनाइ छ। निजामती सेवासम्बन्धी विधेयक संसद्मा दर्ता भइसकेको अवस्थामा अध्यादेश ल्याउनु उपयुक्त नहुने धारणा लामिछानेले राखेको थिए। यद्यपि, अध्यादेश ल्याउने वा नल्याउने विषयमा अन्तिम सहमति भएको पुष्टि भने भएको छैन।
आईजीपी कार्कीको निरन्तरताबारे चासो
नेपाल प्रहरीका आईजीपी कार्कीलाई हटाउने चर्चाका बीच उनको निरन्तरता र सम्भावित नयाँ आईजीपीरीबारे पनि छलफल भएको बताइएको छ। प्रहरी नेतृत्व परिवर्तन गर्दा उत्पन्न हुन सक्ने जोखिम र वैकल्पिक नेतृत्वका विषयमा प्रधानमन्त्री शाह र लामिछानेबीच विचारविमर्श भएको स्रोतको दाबी छ। लामिछानेले पर्याप्त आधारबिना कार्कीलाई हटाउने निर्णय गर्न नहुने धारणा राखेका थिए भनिएकाे छ । तर, कार्कीलाई हटाउने निर्णय भएको वा नयाँ आईजीपी नियुक्तिका लागि कुनै नाममा सहमति जुटेको पुष्टि भएको छैन।
मन्त्री हेरफेरको प्रस्ताव
सरकारको कामकारबाहीको समीक्षाका क्रममा मन्त्रिपरिषद् हेरफेरको विषयसमेत उठेको बताइएको छ। लामिछानेले केही मन्त्री परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेको र प्रधानमन्त्री शाह त्यसप्रति सकारात्मक देखिएको स्रोतको दाबी छ। तर, मन्त्री परिवर्तन गर्ने विषयमा ठोस सहमति भने भएकाे छैन। सरकारका आगामी निर्णय र प्रशासनिक नियुक्तिबारे छलफल भए पनि त्यसको औपचारिक निष्कर्ष सार्वजनिक भएको छैन। भेटमा भएका छलफलको प्रभाव आगामी मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिन सक्ने बताइएको छ।
सांसद सुनार प्रकरणमा पनि छलफल
रास्वपा सांसद सुनारसँग जोडिएको अडियो प्रकरणबारे पनि छलफल भएको छ। सार्वजनिक चर्चामा आएको उक्त अडियोमा एक महिलालाई धम्की दिइएको र अश्लील शब्द प्रयोग गरिएको आरोप छ। यस विषयमा पार्टीभित्र आन्तरिक छानबिन भइरहेको बताइएको छ। यद्यपि, अडियोको आधिकारिकता र घटनाको पूर्ण विवरणबारे सम्बन्धित पक्षबाट औपचारिक पुष्टि भएको छैन।
भूराजनीतिक विषयमा पनि कुराकानी
भारतको धार्मिक भ्रमण सकेर आइतबार नेपाल फर्किएका लामिछानेसँग प्रधानमन्त्री शाहले भूराजनीतिक विषयमा समेत जानकारी लिएका छन्। भेटमा सरकारका आगामी नीति, प्रशासनिक निर्णय र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ।
लामिछानेसँग दिनभरजसो छलफलमा व्यस्त रहेकाले प्रधानमन्त्री शाह बुधबार सिंहदरबार गएन।
यो समाचार सेयर गर्नुहोस्:
💬 टिप्पणीहरू (0)
💬
अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो बन्नुहोस्!