काठमाडौँ : नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष गजुरेललाई भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेको हो ।

भारतले गत महिना सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली लिपुलेक क्षेत्रलाई समावेश गरेपछि भारतको सर्वत्र विरोध भैरहेको बेला सडकमा निस्किएका गजुरेलसहित पार्टीका अन्य नेता कार्यकर्ता पक्राउ परेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले पुष्टि गरे । राजधानीको माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले गिरफ्तार गरेको बताइएको छ।

भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समेटिएको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगाएतका राजनीतिक पार्टीले आ-आफ्नो धारणा सार्वजनिक गरि त्यसबारे कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरि अतिक्रमित नेपाली भूभाग फिर्ता गराउने बारेमा सबै राजनीतिक दलको तर्फबाट सुझाव लिएका थिए । भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा दिनहुँ जसो विभिन्न राजनीति दल सहित ती निकट संगठनहरुले राजधानी लगायत देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • आईतबार १३ पुस, २०७६