भरतपुर – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको माडीलाई एकीकृतरूपमा विकास गरिने बताउनुभएको छ । माडी नगरपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भारतसँग सीमा जोडिएको प्रदेश नं ३ को माडीलाई एकीकृत विकास गर्दै मुख्य नाकाको रूपमा विकास गरिने बताउनुभयो । उहाँले माडीको विकासका लागि प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री स्थानीयस्तरमा हुँदै आएको विकासको मोडेल परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । “हामीले आजसम्म पैसामात्र बाँड्यौँ, अब पैसामात्रै बाँडेर होइन, विकासका आयामहरु बाँडेर दिगो विकासका लागि अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

स्थानीयस्तरका राजनीतिक दल, सामाजिक कार्यकर्ता मिलेरमात्रै समृद्ध समाज निर्माण गर्न सकिने उहाँले धारणा राख्नुभयो । “स्थानीय सरकार बलियो बनाउन मैले जिन्दगीभर लड्दै आएँ”, उहाँले भन्नुभयो, “त्यसकारण पनि सिंहदरबारमा बसेर गाउँको विकास गर्नुहुँदैन भन्ने मान्यतामा म दृढ छु ।”

सिंहदरबारमा बसेर गाँउको विकास गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको उहाँको भनाइ थियो ।कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकाललगायतको सहभागिता रहेको थियो । (रासस)

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • बुधबार २५ मङ्सिर, २०७६