लामो समयदेखि चर्चामा रहेको दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण धमाधम भइरहेको छ । प्राविधिकसहितको चिनियाँ टोलीले पेट्रोलियम पदार्थको बढी सम्भावना रहेको शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुकालगायत क्षेत्रलाई लक्षित गरी विस्तृत अन्वेषणको काम गरिरहेको हो ।

पानीमा पेट्रोलियम पदार्थ तैरिरहेको र आगोको ज्वाला पनि प्रकृतिक रुपमै बलिरहेकोले यि क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएपछि पहिलो पटक प्रधानमन्त्री भएर चीन जाँदा केपी शर्मा ओलीले त्यहाँको सरकारलाई अनुसन्धानका लागि आग्रह गरेका थिए ।

दैलेखमा पेटोलियम पदार्थको सम्भावनाको खोजी २०६२ सालअघि नै सुरु गरिएको थियो । त्यतिबेला ३ वटा कम्पनीले काम सुरु गरेर ७० लाख बढि अमेरिकि डलर खर्च गरेका थिए । पछिल्लो पटक तत्कालिन उद्योग मन्त्री सोमप्रसाद पाण्डेको अग्रसरतामा नेपाल र चीन सरकारबीच ‘जिटुजी’ सम्झौता भएपछि पेट्रोलियम अन्बेषणले तीब्रता पाएको हो । जसप्रति स्थानीय उत्साहित छन् ।

नेपाल सरकारको खानी तथा भूगर्भ विभाग र चीन सरकारको ‘चाइना जिओलोजिकल सर्भे’ कम्पनीबीच २ अर्ब ४० करोडमा अन्वेषण गर्ने सम्झौता भएअनुसार चाइना जिओलोजिकल सर्भेका वरिष्ठ भूगर्भविद् ट्यान फुएनको नेतृत्वमा चिनियाँ टोली दैलेखमा खटिएको छ । संम्भावित क्षेत्रमा अन्वेषणको ‘साइस्मिक सर्भे’का लागि चार वटा प्राविधिक टोली खटिएको छ । दैलेख बजारको चारै तिरका स्थानमा अन्बेषणका काम भइरहेको छ । पेट्रालियम अन्बेषणको काम संबेदनशिल भएकोले खोज र अनुुसन्धानलाई सुरक्षित गर्न दैलेख, दुल्लुलगायतका स्थानमा क्याम्प निर्माण गरिएको छ ।

पेट्रोलियम पदार्थ अन्बेषणका लागि करिब १ सय कामदारलाई तालिम दिइएको छ । जसमध्ये स्थानीय ७० जना जति छन् । जमिनमुनि ५ किलोमिटरसम्म ‘ड्रिलिङ’ गर्नुपर्ने भएकाले स्थानीय कामदारलाई क्यामपमै राखेर प्रशिक्षण दिएको छ । अन्वेषणको काम चार चरणमा हुने हुदाँ पहिलो टोलीले सर्भे गर्ने र आवश्यक पर्ने नक्सा तयार गर्ने छ । दोस्रो टोलीले ‘जिओलोजिकल सर्भे’ गर्ने र जमिनको सतहमुनिको अवस्था अध्ययन÷अनुसन्धान गर्ने छ । तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक औजार र सामग्री मगाउने छ भने चौथो टोलीले जमिनमुनिको सतह कस्तो अवस्थामा छ भनेर ‘साइस्मिक सर्भे’ गर्ने छ । अन्वेषणका क्रममा अनुसन्धान टोलीले ग्यास तथा पेट्रोलियम पदार्थ भएको जमिनमुनि करिव ५ देखि २० किलोमिटरसम्म अध्ययन गर्ने छ ।

अन्वेषण कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञले चट्टान हेरेर जमिनमुनिको अवस्थाबारे ‘एमआरआई’ जस्तो सर्भे गर्ने छन् । जमिनमुनि स–साना कम्पनको तरंग पठाएर ‘ड्रिलिङ’ हुनेछ । जसले भण्डारण कति छ, कहाँसम्म फैलिएको छ, कहाँबाट निकाल्न मिल्छ आदि कुरा पत्ता लाग्ने छ । खानी तथा भूभर्व विभागका अनुसार अबको एक वर्षभित्र अन्वेषणको काम सकिने छ । उक्त विस्तृत अन्वेषणको काम सकिएपछि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ भए÷नभएको टुंगो लाग्ने छ ।

नेपालमै पहिलो पटक हुन लागेको पेट्रोलियम अन्बेषण सहजतापूर्बक सम्पन्न गर्न स्थानीय प्रशासनले सबैखाले सुरक्षा रणनीति अपनाएको छ । अन्बेषण भइरहेका ठाउँको सुरक्षा र क्याम्प निर्माणमा सुरक्षाकर्मीले सहजिकरण गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयले नजिकको प्रहरीलाई प्रत्येक दिन सुरक्षाका लागि खटाउने गरेको छ । स्थानीय सरकारसँग सहाकार्य गरेर अन्बेषण टोलीले अनुभूत गर्ने गरी सुरक्षाको व्यवस्था मिलाइएको छ । आयोजना सफल भए मुलुककै प्रगति हुने भएकाले अन्बेषणमा सबैको चासो र चिन्ता छ । दैलेखमा पेट्रोलियम पदार्थ पाइने आधार भएपनि यति नै छ भन्ने पुष्टि भएको छैन । अहिलेको अध्ययनले कति पेट्रोलियम पदार्थ छ भनेर पत्ता लाग्छ । अन्वेषण टोलीले अहिले जमिनको ‘एक्सरे’ गरिरहेको छ । ड्रिल गर्न सकिने सजिलो ठाउँ पत्ता लगाएपछि मात्रै ड्रिलिङको काम सुरु हुन्छ ।

ड्रिलिङ गरेर पेट्रोलियम पदार्थ भए नभएको र परिणाम पत्ता लगाउन अझै एक वर्ष लाग्ने छ । दैलेखमा ४ दशमलब ५ किलोमिटरसम्म ड्रिल गर्ने योजना छ । त्यति ड्रिल गर्दा पनि पेट्रोलियम पदार्थको भण्डार भेटिएन भने काम अघि बढ्दैन र अहिलेसम्मको सबै मेहनत खेर जान्छ । ड्रिल गरेपछि मात्रै कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्छ । र, खानी भेटिएपछि आर्थिक विश्लेषण गरेर उत्पादन गर्ने÷नगर्ने निर्णय हुन्छ । भण्डार ठूलो रहेछ भने मात्रै उत्पादनको प्रक्रिया सुरु गरिन्छ । उत्पादन कम हुने र खर्च बढी लाग्ने अवस्थामा उत्पादन गरिँदैन ।

नेपालमै उत्पादन गर्दा अहिलेको बजार मूल्यभन्दा सस्तो भएमा मात्रै त्यो आर्थिक रुपमा फाइदाजनक हुन्छ । अन्बेषणले पर्याप्त इन्धन रहेको र उत्पादन गर्दा फाइदा हुन्छ भन्ने निश्कर्ष दियो भने सरकारले कुनै अन्य कम्पनी वा संस्थालाई उत्पादनको जिम्मेवारी दिन्छ । पहिलो एक वर्ष ड्रिल गरेर भण्डारको मात्रा पत्ता लगाएपछि उत्पादन सुरु गर्न अर्का एक वर्ष लाग्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । नियमित काम भएमा तीन वर्षपछि पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • मङ्गलबार १० मङ्सिर, २०७६