बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो ।

४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

खेलको नवौँ मिनेटमा नै नेपाल सुमोन रेजाको गोलमा पछि परेको थियो । त्यसपछि भने नेपालले खेलमा नियन्त्रण राख्दै बंगलादेशमाथि दबाब राखेको थियो ।

खेलको ७९ औँ मिनेटमा बंगलादेशका गोलकिपर अइनसुर रहमान जिकोले रातो कार्ड पाएपछि नेपालले थप राहत पाएको थियो । तर, बराबरी गोलका लागि नेपालले ८८ औँ मिनेटसम्म पर्खनुपरेको थियो । नेपालले पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गर्दै खेल बराबरी गरे ।

त्यसपछि कुनै गोल हुन नसकेपछि नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो । अब भारत र माल्दिभ्सबीचको खेलले दोस्रो फाइनलिस्ट को हुने तय गर्नेछ ।

माल्दिभ्सको ६ तथा भारतको ५ अंक रहेको छ । माल्दिभ्सले बराबरी मात्र खेले फाइनलमा पुग्नेछ भने भारतले भने खेल जित्नै पर्ने दबाब छ । बंगलादेश ५ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

नेपाल बैंकको लाभांश घोषणा
  • बुधबार २७ असोज, २०७८