मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा ४.५६ गुणा बढीको आवेदन परेको छ।

आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्ममा आईपिओमा २४ लाख ७६ हजार ४ सय ८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले ९० लाख कित्ता शेयर निष्काशन गरेको हो । ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको थियो ।

त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

माग भन्दा बढीको आवेदन परिसकेकोले यो आईपिओ गोलाप्रथाबाट नै बाँडफांड हुने छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् ।

कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन नपाउने ब्यबस्था गरिएको थियो। यदि आवेदन दिएको भए रद्द हुने छ ।

वित्तीय विवरण : २०७७ असार मसान्तसम्मको वासलात अनुसार कम्पनीको जम्मा ‘पुँजी तथा दायित्व’ र ‘खुद सम्पति’ ९ अर्ब ४९ करोड रहेको छ । यस अवधिमा कम्पनीको खुद नोक्सानी ५ करोड ५० लाख रहेको छ ।

आर्थिक वर्ष ७३/७४ देखि आर्थिक वर्ष ७६/७७ सम्मको लेखापरिक्षण भएको वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी क्रमश २ करोड १० लाख, १ करोड ५९ लाख, ५ करोड १० लाख र ५ करोड ५० लाख रहेको थियो ।

आन्तरिक लेखापरिक्षकले प्रमाणित गरेको २०७७ पौष मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी २ करोड ३४ लाख रहेको छ । कम्पनीले यसै वर्षदेखि आयोजना सम्पन्न हुने र बिद्युत बिक्रिबाट आम्दानी हुन् थाल्ने भएकोले आर्थिक वर्ष ७७/७८ देखि कम्पनी नाफामा जाने प्रक्षेपण गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८. ७८/७९ र ७९/८० मा कम्पनीको आयकर कट्टीगरे पछिको खुद नाफा क्रमश २९ करोड ९८ लाख, ९० करोड ४३ लाख, र १ अर्ब २८ करोड हुने प्रक्षेपण गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ , ७८/७९ र ७९/८० मा विद्युत बिक्रिबाट क्रमश १ अर्ब ६ करोड, २ अर्ब ९३ करोड र ३ अर्ब २ करोड आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।

नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार