मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गरेको शेयरमा असोज २५ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे कार्तिक ३ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई ६० करोड रुपैयाँ र सर्वसाधारणलाई ९० करोड रुपैयाँ गरी एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ पुग्नेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार