सामलिङ पावर कम्पनीको आइपीओ बिक्री खुला भएको छ । शुक्रबार भदौ १८ गतेबाट यसअघि स्थगित आयोजना प्रभावित स्थानीयबासीको आइपीओ पुनः खुला भएको हो । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि साउन २२ गतेदेखि आइपीओ बिक्री खुला गर्ने जनाएकोमा निषेधाज्ञाका कारण स्थगित भएको थियो ।

यस कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४०% अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी ६०% अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याइएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । स्थानीयले असोज १ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने असोज १७ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् ।

यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । यसको अनुमानित कुल लागत २ अर्ब रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • शुक्रबार १८ भदौ, २०७८