नेपालीहरू वैधानिक तरिकाले कतार प्रहरीमा भर्ना हुने प्रक्रियाले छिट्टै गति लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गतहप्ता कतारको दोहास्थित नेपाली दूतावासलाई नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सझौताको परिधिभित्र रहेर कतार प्रहरीका लागि मागपत्र प्रमाणीकरण गर्न अनुमति दिएको छ ।

सन् २००५ को नेपाल र कतारबीचको द्विपक्षीय श्रम सम्झौतामा नेपाली नागरिकलाई नेपालका निजी क्षेत्रबाट पठाउने उल्लेख छ । यसले कतार प्रहरीमा पठाउने काममा निजी क्षेत्रका म्यानपावर कम्पनीहरुले जिम्मा पाउने देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सन् २००५ को नेपाल–कतारबीचको श्रम सम्झौताको मापदण्डभित्र रहेर मागपत्र प्रमाणीकरण गर्न अनुमति दिएपछि अहिले कतार प्रहरीमा नेपाली पठाउने विषय निर्णायक मोड लिएको हो ।

सरकारको अनुमति बिना यसअघि गत फागुनमा केही म्यानपावर कम्पनीहरुले ठूलो रकम उठाएर कामदार छनोट गर्न अन्तर्वार्ता गरेको भन्ने विषय सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा छापा मारी कारबाही गरेको थियो । शुरुमा कतारको आन्तरिक मन्त्रालयले दोहास्थित नेपाली दूतावासमा दुई सय जनाको मागपत्र पेश गरेको तर पछि नेपालले अलमल गरेपछि त्यो प्रक्रिया त्यत्तिकै रहेको श्रोतले बतायो । कतारको अन्य क्षेत्रमा दुई वर्षको करार अन्तर्गत नेपाली कामदार जाने गरेका छन् ।

तर कतारले आफ्नो प्रहरीको सहयोगका लागि लैजान नेपालीलाई शुरुमा करारका माध्यमबाट तीन वर्षका लागि भर्ना गर्ने र पछि कार्य दक्षताका आधारमा करार अवधि बढाउन खोजेको बताइएको छ । कतार प्रहरी भनेपनि नेपालीले कतारको कोर पुलिस फोर्सको जिम्मेवारीमा काम नगरी सहायक फोर्समा काम गर्ने बताएइको छ । उनीहरुले हतियार बोक्नु पर्ने छैन । उचाई ५ फिट ७ इन्च र उमेर १८ देखि ३५ वर्ष समूहका नेपाली पुरुष कतार प्रहरीमा भर्ना हुन सक्ने छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार