हालसम्मकै उच्च आवेदन परेको सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको बाँडफाँड कहिले होला भन्ने सबैको चासोको विषय बनेको छ । हालसम्म बैंकहरूबाट आईपीओको भेरिफिकेसनको काम सक्किएको र क्यापिटलको रिपोर्ट जेनेरेट गर्ने काम बाँकी रहेको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

त्यसैले भोलिबाट क्यापिटलको काम गरी सकभर आउँदो आइतबार आईपीओ बाँडफाँड गर्ने तयारी रहेको छ । सानिमा लाईफ इन्स्योरेन्सले बुधबार साउन २० गतेदेखि आईतबार साउन २४ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ ।

यो मागभन्दा ६।८४ गुणा बढी आवेदन हो । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन्भ ने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुनेछ ।

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओ

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा विक्री गर्न लागेको हो ।

यो आईपीओ छिटोमा भदौ १४ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २९ गतेसम्म विक्रीमा रहनेछ । स्थानिय बासिन्दाहरुले आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको यस आईपीओलाई इक्रा नेपाल लिमिटेडले कमजोर आधारहरुको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बि माइनस ग्रेडिङ्ग प्रदान गरेको छ । कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ हजार ९९४ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार