मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा हालसम्म १ अर्ब ६६ करोड बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपिओमा साउन २६ गते बेलुकासम्ममा ८२ हजार १ सय ३४ जना आवेदकबाट १ करोड ६६ लाख १६ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको हो ।

यो माग गरिए भन्दा २.७६ गुणा बढी हो । जस मध्ये आयोजना प्रभावितबाट ८ हजार ६ सय २ जना आवेदकबाट २१ लाख २५ हजार १ सय ३१ कित्ताको लागि र अन्य सिन्धुपाल्चोकवासीबाट ७३ हजार ५ सय ३२ आवेदकबाट १ करोड ४४ लाख ९१ हजार १ सय ५९ कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले साउन ५ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ ।

यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ । यसमा साउन ३२ गतेसम्म सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ ।

यसको अलावा इ सेवा र आइएमई पेको अनलाइन पेमेन्ट गेटवे तथा ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाबट अनलाइन आवेदन दिन सकिने व्यवस्था छ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार