नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको नाफा घटेको बतएक छन् । आर्थिक वर्ष २०७६/७७ मा रु ११ अर्ब नाफा कमाएको प्राधिकरणले आव २०७७/७८ मा भने रु पाँच अर्ब मात्रै नाफा गर्ने अवस्था आएको उनले बताएका छन् । त्यसका पछाडि विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको महसुल खारेज गरिदिएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

त्यस्तो लाइनबाट बिजुली लिनेबाट प्राधिकरणले रु तीन अर्ब ५० करोड बराबरको आम्दानी गर्ने गरेको थियो । उनका अनुसार २०७७ साउनदेखि डेडिकेटेड र ट्रंक लाइनको महसुल खारेज भएको छ । यस्तै, सुक्खायाममा नेपालका नदीमा जलसतह घटेका कारण भारतबाट थप रु चार अर्ब बराबरको थप बिजुली आयात भएको उनले बताए ।

कूल २५ हजार मेगावाट घण्टा बिजुली माग भएको हिउँदको समयमा झण्डै ६० प्रतिशत अर्थात् १५ हजार मेगावाट घण्टा बराबरको बिजुली भारतबाट आयात गर्नुपरेको उनको भनाइ छ । थप बिजुली आयात गर्दा प्राधिकरणको नाफामा गिरावट आएको उनले बताए । यस्तै, प्रशासनिक तथा सञ्चालन खर्च घटाउँदा रु दुई अर्ब २५ करोड बराबरको रकम बचत गर्न सफल भएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

लकडाउन तथा निषेधाज्ञाको समयमा सरकारको निर्णयअनुसार छुट दिइएको समेत उनले बताए । त्यसबापत प्राधिकरणले उद्योग तथा प्रतिष्ठानलाई दिइएको रु तीन अर्ब बराबरको छुट सरकारले शोधभर्ना गर्नेमा आफू विश्वस्त रहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । पछिल्लो छ महिनामा आफू र प्राधिकरणका समग्र कर्मचारीले ज्यान जोखिममा राखेर काम गरेको र मेहनतमा कुनै पनि तलमाथि नभएको बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • बिहिबार २१ साउन, २०७८