मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । वैशाख २१ गतेदेखि खुलाइएको आईपीओ कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको थियो अब भने कम्पनीले साउन ३२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा १ करोड ३८ लाख बढी कित्ताका लागि आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा ६३ हजार ६८७ जनाले १ करोड ३८ लाख ४८ हजार ४७६ कित्ताका लागि आवेदन दिएका हुन् । आईपीओमा १ अर्ब ३४ करोड ४८ लाख ४७ हजार ६०० रुपैयाँ बराबरको आवेदन परेको छ । यो माग भन्दा २.३० गुणा बढी आवेदन हो ।

कम्पनीले साउन ५ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविसं) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ )साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस)का स्थानीयलाई छुट्याईएको छ । यस्तै, ७० प्रतिशत ले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।

यसमा साउन ३२ गतेसम्म सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ । यसको अलावा इ सेवा र आइएमई पेको अनलाइन पेमेन्ट गेटवे तथा ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाबट अनलाइन आवेदन दिन सकिने व्यवस्था छ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार