नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जीवन विकास लघुवित्तको शेयर सुचिकृत भएको छ। कम्पनीको ६० लाख ८४ हजार कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै कम्पनीको बिहिबारदेखि शेयर कारोबार सुचारु हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ३०५ रुपैयाँ २७ पैसा देखि ९१५ रुपैयाँ ८१ पैसा सम्मको रेन्ज तोकेको छ । यो रेन्जको जुनसुकै मूल्यबाट कम्पनीको शेयर कारोबार सुचारु हुन सक्ने छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

कम्पनीको GBLB सिम्बलबाट कारोबार हुने छ । कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।

आईपिओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन परेकोमा ६९ हजार ९ जनाको आवेदन रद्द भएको थियो । ६९ हजार ९ जनाको आवेदन मध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको थियो । यस हिसाबमा २० लाख १८ हजार ३ सय ८ जना आवेदक योग्य रहेका थिए। माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २० लाख १८ हजार ३ सय ८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफांड गरिएको थियो । जस अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ८ सय १ जनाले १० कित्ता शेयर पाएका थिए भने ५ जनाले ११ कित्ता शेयर पाएका थिए ।

यस हिसाबमा १९ लाख २ हजार ५ सय १६ जना आवेदक हात खाली भएका थिए । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित हो । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि कम्पनीले वित्तीय सेवा प्रदान गरिरहेको छ ।

नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ । कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार