पछिल्लो समय नेपाली सेयर बजारमा नयाँ लगानीकर्ताहरु भित्रने क्रम दिनहुँ बढ्न थालेको छ । त्यसमा पनि साधारण सेयर (आईपीओ) लगानीकर्ताहरुको ओइरो लाग्न थालेको छ । पछिल्लो समय सेयर पाउँन भाग्यकै भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । अहिले एउटा कम्पनीको आईपीओमा २२ लाखसम्मले आवेदन दिन थालेका छन् ।

हामी नयाँ आर्थिक वर्ष २०७८/७९ मा प्रवेश गरिसकेका छौं । गत आर्थिक वर्ष २०७७/७८ मा नियामक निकाय नेपाल धितोपत्र बोर्डले विभिन्न २२ वटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले विभिन्न २२ कम्पनीलाई १५ अर्ब १७ करोड ८३ लाख २८ हजार ७०० रुपैयाँ बराबरको कुल १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले अनुमति दिएको २२ कम्पनीमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी रहेका छन् । जसमा ८ वटा हाइड्रोपावर, ७ वटा इन्स्योरेन्स कम्पनी, ५ वटा माइक्रोफाइनान्स, एउटा बैंकिङ र एउटा अन्य क्षेत्र रहेका छन् । गत आर्थिक वर्षमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा बढी आईपीओ निष्कासन गरेको थियो भने समाज लघुवित्तले सबैभन्दा कम आईपीओ निष्कासन गरेको थियो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो । बैंकको आईपीओमा आवेदन दिने योग्य आवेदन कसैको हात खालि रहेन ।

समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा पहिला बोर्डको अनुमति पाउने कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ भने मानुषी लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्स र सामलिङ्ग पावर कम्पनीले आर्थिक वर्षको अन्तिम दिन स्वीकृति पाएका हुन् । गत आर्थिक वर्षको अन्तिम दिन आईपीओ निष्कासन गर्न बोर्डको स्वीकृती पाएका सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीले भने अझै निष्कासन मिति तय गरेका छैनन् ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरिरहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका निष्कासन तथा बिक्री गरिसकेपछि कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । मध्ये भोटेकोशी जलविद्युतले पनि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आईपीओ बिक्री गरिरहेको छ । कम्पनीले पनि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । सो आईपीओ बाँडफाँट गरिसकेपश्चात दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्कासनको मिति तय गरिसकेको छ कम्पनीले साउन १४ गतेबाट आईपीओ निष्कासन गर्दैछ । त्यसैगरी, बाँकी १६ कम्पनीले भने आईपीओ निष्कासन गरिसकेका छन् । जसमध्ये, ३ कम्पनीको आईपीओ दोस्रो बजारमा कारोबार हुन बाँकी रहेको छ ।

गत आर्थिक वर्षको अन्तीम महिना असारमा सर्वसाधारणमा आईपीओ बिक्री गरेका जीवन लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको साधारण सेयर आईपीओ भने धितोपत्र दोश्रो बजारमा कारोबार हुन बाँकी रहेको छ । नेप्सेमा सूचिकृत भएपश्चात यी कम्पनीको सेयर पनि दोस्रो बजारमा कारोबारमा आउनेछ । अन्य कम्पनीको सेयर भने दोस्रो बजारमा कारोबारमा आईसकेको छ ।

upcoming_ipo_in_nepal
upcoming ipo in nepal

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार