नबिल बैंक लिमिटेड (NABIL) ले वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले साउन १० गतेदेखि ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।

सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सो ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २४ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई निकै कम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • आईतबार ३ साउन, २०७८