सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको प्रति कित्ता अंकित मूल्य एक सय रुपैयाँ दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरे ।

बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन (प्राप्ति) गरेको छ ।

एक्विजिशन (प्राप्ति) पश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ रुपैयाँ रहेको छ । संस्थापक समुहको ६७.५० प्रतिशत सेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्थासहित ९९ जना संस्थापक सेयरधनीबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको सेयरपुँजी चुक्ता भइसकेको छ ।

वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार