नेष्डो समृद्ध लघुवित्तले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । इक्राले आइपीओ निष्कासनको तयारीमा रहेको नेष्डोलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो । यसले प्रतिकित्ता १०० रुपैयाँको दरमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

नेष्डो समृद्धले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेष्डो समृद्धको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ । नेष्डोलाई नेपाल राष्ट्र बैंकले “घ” वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत दिएको छ । यसको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समूहको हिस्सा ७०% सेयर छ ।

यस लघुवित्तमा दुई वटा संस्था र ८१ जना संस्थापक सेयरधनीहरुले १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको सेयर पुँजी चुक्ता गरिसकेका छन् । कम्पनीले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यद्दपि, धितोपत्र बोर्डमा निवेदन दिएर बोर्डको अनुमति पाएपछि मात्र आइपीओ जारी हुनेछ । नेष्डो समृद्धिले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिँदै आइरहेको छ ।

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिएर काम गर्दै आइरहेको थियो । २०७५ फाल्गुन २९ गते नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संंस्थाको रुपमा काम गर्न इजाजत दिएपछि आफ्नो वित्तीय कारोबार सुरु गरेको कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार