अपि पावर कम्पनी लिमिटेडले आज जेठ २० गते, बिहीबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले १ बराबर ०ः२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । अर्थात कम्पनी १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले २९ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

आज जेठ २० गतेबाट बिक्रि खुल्ला गरिएको उक्त हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेड को केन्द्रिय कार्यलय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू (इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुर) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ ।

यो दोस्रो चरणको हकप्रद हो । यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रति सेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार