परीक्षणका क्रममा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङभित्र राखिएको पेनस्टक पाइपमा चुहावटको समस्या देखिएको छ । तीव्र सरकारी दबावका कारण छिटो काम सक्न खोज्दा दक्षता र गुणस्तर नपुगेकाले अहिले पेनस्टक पाइपकै भागमा समस्या देखिएको आयोजनाका प्राविधिकहरुको निष्कर्ष छ । प्राविधिकहरुका अनुसार उद्घाटनका लागि छिटो काम सक्न गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र ऊर्जा मन्त्रालयबाट तीव्र दबाव थियो । त्यसअनुसार हतार-हतार काम सक्नेतर्फ जोड दिँदा आयोजनाको सबैभन्दा सम्वेदनशील र जटिल भागमै समस्या निम्तिएको हो ।

गत वैशाख १६मा सुरुङमा पानी हालेर परीक्षण सुरु गर्नासाथ पेनस्टकको ‘म्यानहोल’मा चुहावट हुने समस्या देखिएको थियो । ६०० मिटरको हेडसम्म पानी हालेर प्रेसर दिँदा चुहावट देखिएपछि आयोजनाले मर्मत नगरी सुरुङ भर्न नहुने निष्कर्ष निकालेको थियो । समस्या परेको जानकारी हुँदाहुँदै पनि परीक्षण उत्पादन थालिहाल्न आयोजनामाथि दबाव कायमै थियो । तर, समस्या जटिल हुने देखेपछि आयोजनाका अधिकारीले नकारेका थिए । यो आयोजनामा गत माघमा भारतीय ठेकदार कम्पनी टेक्सम्याकोले आवश्यक उपकरण ल्याउन ढिलाइ हुने बताएपछि डिजाइन नै फेरेर चैतभित्रै परीक्षण उत्पादनको योजना बनाइएको थियो ।

‘डिजाइन परिवर्तनका कारण समस्या देखिएको चाँहि हैन, उद्घाटनका लागि छिटो काम सक्ने दबाव दिइएका कारण ध्यानपूर्वक भन्दा बढी बलपूर्वक काम भयो,’आयोजनाका एक अधिकारी भन्छन्,’हतारको कामले वर्क म्यानसिप कमजोर हुँदा लिकेज देखिएको हो ।’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनाको सुरुङ र पेनस्टक पाइपमा सामान्य समस्या देखिएको बताउँछन् । समस्या समाधानका लागि काम भइरहेको उनले बताए ।

दुई ठाडो सुरुङ जोड्ने पेनस्टक पाइपको ‘म्यानहोल’मा चुहावट देखिएपनि मर्मतको काम धमाधम भइरहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । ‘शुक्रबारसम्म मर्मत सकाउने लक्ष्य छ,’ उनले भने । भारतीय ठेकदारको भर परेको भए आवश्यक उपकरण ल्याउन नै तीन महिना समय लाग्ने देखिएपछि डिजाइन परिवर्तन गर्नुपरेको उनले स्पष्ट गरे ।

आयोजनाका एक वरिष्ठ प्राविधिक भने बनिनसक्दै समस्या देखिनुले आयोजनामा भविष्यमा जुनसुकै बेला समस्या पर्नसक्ने जोखिम देखिएको बताउँछन् । ‘स्वदेशी लगानीमा बनेको यति ठूलो आयोजनामा यसैपनि धेरै ढिलाइ भएको थियो, अन्तिम केही महिनामा दबावविहीन ढंगले काम गर्न दिएको भए हुने थियो,’ उनले भने,’मेलम्चीको सुरुङमा भएको दुर्घटनालाई बिर्सिएर उद्घाटनका लागि दबाव बढाउँदा भविष्यमा यो आयोजनामा समेत जतिबेला पनि दुर्घटना हुनसक्ने डर रह्यो ।’

वर्षौंसम्म चल्ने प्लान्टमा हुने हरेक काम गुणस्तरीय हुनुपर्ने भन्दै ती प्राविधिकले सरकारले दिएको दबावले अन्तिम समयमा भएको कामको विश्वसनीयताबारे आयोजना आफैं विश्वस्त हुन नसकिरहेको बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार