हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच यसैसाता मर्ज गर्ने सम्झौता हुँदै छ । स्रोतका अनुसार बिहीबार मर्ज गर्ने सम्झौता हुँदैछ । यदि बिहीबार सम्झौता हुन नसके पनि आगामी आइतबारभन्दा पर नजाने बताइएको छ । हिमालयन बैंकको सञ्चालक समितिले इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जाने गरी माइन्युटसमेत गरिसकेको छ । मर्जपछि बैंकको नाम हिमालयन एन्ड इन्भेष्टमेन्ट रहने बताइएको छ ।

लामो कसरतपछि दुई ठूला बैंकबीच मर्ज हुन लागेको हो । अब सम्पूर्ण काम सकिसकिएको छ । ‘बैंकको अध्यक्ष को बन्ने ? प्रमुख कार्यकारी अधिकृत को हुने भन्ने पनि टुंगो लागिसकेको छ,’ स्रोतले भन्यो, ‘बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा र डेपुटी प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे रहने सहमति भइसकेको छ ।’

मर्जपछि प्रमुख कार्यकारी अधिकृत को बन्ने विषय नटुङ्गिदा मर्जले अन्तिम रूप लिन सकेको थिएन । राणा र पाण्डे दुवैले मर्ज पछि बन्ने बैंकको सीईओ आफू हुनुपर्ने दाबी गरेपछि मर्जमा केही ढिलाइ भएको बुझिएको थियाे । स्रोतका अनुुसार अब बन्ने बैंकको कार्यकारी भूमिका राणाले लिने छन् भने डीसीओ पाण्डेलाई दिइने भएको हो ।

त्यसैगरी, डेढ अर्ब रुपैयाँसम्मको ऋण पाण्डेबाटै स्वीकृत गर्ने गरी अधिकारसमेत दिइएको छ । त्योभन्दा बढीको ऋण स्वीकृति गर्नुपरेमा मात्रै राणासमक्ष फाइल पुग्ने बताइएको छ । यी दुई बैंक एक आपसमा गाभिए पछि देशकै सबैभन्द ठूलो बैंक हुनेछ । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङको विषयलाई उठाएपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जका लागि छलफल अघि बढाएका थिए ।

पछि केन्द्रीय बैंक मर्जका मामलामा केही खुकुलो बन्दै गएपछि हिमालयन र इन्भेष्टमेन्ट बैंक चलेको छलफलले अन्तिम रूप लिन लागेको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार