मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयको लागि निष्काशन गरेको आईपिओमा पहिलो दिन १ करोड बढीको आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आईपिओमा पहिलो दिन १ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आईपिओमा ६ सय २ जना आवेदकबाट १ लाख ३० हजार २ सय ८० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो।

जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन हुने छ ।

यस आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ। कम्पनीको आईपिओ ईसेवाबाट पनि भर्न सकिन्छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सिन्धुपाल्चोक मै स्थायी बसोबास गरिरहेका र डिम्याट खाता हुनेहरुले ईसेवाबाट नै आवेदन दिन सक्ने छन् ।

यसको लागि इसेवामा रहेको MBJCL – IPO (Local People) अप्सन छान्नु पर्ने छ । त्यस पछि सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नु पर्ने छ । त्यस्तै आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नु पर्छ । बैंकमा आउने भए बैंकको विवरण हाल्नु पर्छ । त्यसपछि प्रोसिड क्लिक गरि आवेदन दिन सकिन्छ। ईसेवाबाट भरेको भौचर भने ग्लोबल आईएमई क्यापिटललाई मेल मार्फत पठाउनु पर्ने छ ।

त्यस्तै पहिलो चरणमा आईपिओ भरेका कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरूले भने यसमा आवेदन दिन पाउने छैनन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार