हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि नाममा सहमति जुटेको छ। मर्जर कमिटीको आज बसेको बैठकले ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ नाम रहनेगरी सहमति जुटाएको हो।

हिमालयन बैंकले मर्जपछिको नाममा इन्भेष्टमेन्ट जोड्न नखोजेपछि सहमति जुट्न बाँकी थियो। ‘वाणिज्य बैंकको नाम इन्भेष्टमेन्ट कम्पनीजस्तो राख्नु हुँदैन भन्ने हाम्रो धारणा थियो, तर उहाँहरुले मान्नुभएन’ एक उच्च अधिकारीले भने। अन्ततः दुवै बैंकको नाम नमेटिनेगरी सहमति जुटाइएको उनले बताए। त्यस्तै सिइओका सम्वन्धमा पनि सहमति जुटेको छ।

हालका हिमालयन बैंकका सिइओ अशोक शमशेर राणाले थप दुई वर्षको कार्यकाल सम्हाल्ने र त्यसपछिको जिम्मा हालका इन्भेष्टमेन्ट बैंक सिइओ ज्योति पाण्डेले सम्हाल्नेगरी कमिटीमा सहमति जुटेको छ।

अध्यक्षमा भने यसअघि नै सहमति जुटेको छ। इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे नै अध्यक्ष हुनेछन्। स्वाप रेसियो बराबर हुनेगरी सहमति जुटिसकेको छ। यसको अर्थ हाल जुन बैंकको जति सेयर छ, मर्जपछिको बैंकको पनि सो व्यक्ति वा संस्थासँग उति नै सेयर हुनेछ। अब सहमति जुट्न बाँकी विषय नरहेकाले केही दिनमा एमओयू हुनेछ।

मर्जर कमिटीमा भएको सहमति अब दुवै बैंकका संचालक समितिले अध्ययन गरेपछि, त्यहाँ सहमति जुट्नेछ र एमओयू हुनेछ। ‘अहिले एमओयू कहिले हुन्छ भन्नेबारे भन्न सकिने अवस्था छैन’ ती अधिकारीले भने। हाल हिमालयनको कुल कर्जा प्रवाह १ खर्ब २७ अर्ब तथा इन्भेष्टमेन्टको १ खर्ब ६० अर्ब छ। मर्जपछि बैंकको कुल कर्जा प्रवाह २ खर्ब ९० अर्बको हाराहारी हुनेछ।

यस आर्थिक वर्षको चैत मसान्तसम्म इन्भेष्टमेन्टले कुल २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने हिमालयनले १ अर्ब २८ करोड कमाएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार