हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर कमिटीमा सहमति जुटेको छ । बिहीबार बसेका संयुक्त मर्जर कमिटीले दुई बैंकबीच मर्जरमा जाने समहति गर्दै स्वाप रेसियो, नाम, सञ्चालक समिति, उच्च व्यवस्थापन र कर्मचारी समायोजनाको मोडालिटीलगायका विषय टुङ्ग्याएको हो । सहमति जुटेसँगै आज दुई बैंकका संयुक्त मर्जर कमिटीले एमओयूको ड्राफ्टमा हस्ताक्षर गरेका छन् । यद्यपी दुई बैंकले मर्जरको प्रारम्भिक सहमतिमा हस्ताक्षर गर्न भने केही दिन लाग्नसक्ने स्रोतले जनाएको छ ।

दुवैं बैंकले सञ्चालक समिति बैठक बोलाएर संयुक्त मर्जर कमिटीको प्रस्ताव अनुमोदन गरेपछि एमओयू हुने स्रोतले जनाएको छ । 
स्रोतका अनुसार मर्जर पछि बन्ने बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहनेछ । बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, सीईओमा हिमालयन बैंकका सीईओ अशोक राणा रहनेछन् ।

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट बैंकको सीईओ भने डेपुटी सीईओ बन्ने सहमति भएको छ ।  दुई बैंक १ बराबर एकको स्वापमा मर्जरमा जान लागेका हुन् । चालु आर्थिक वर्षको चैत मसान्तको अपरिस्कृत वित्तीय विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रहेको छ भने पुँजीकोष ३० अर्ब माथि रहेको छ । 

हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड र पुँजीकोष १८ अर्ब ३५ करोड रहेको छ । मर्जरपछि बन्ने बैंकको पुँजीकोष करिब ४९ अर्ब पुग्नेछ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८५ करोड र हिमालयन बैंकले १ अर्ब २९ करोड खुद मुनाफा आर्जन गरेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५६ अर्ब कर्जा लगानी गरेको छ ।

हिमालयन बैंकले १ खर्ब ३२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २२ अर्ब कर्जा लगानी गरेको छ । मर्जरपछि बैंकको निक्षेप करिब ३ खर्ब र कर्जा लगानी २ खर्ब ८० अर्ब पुग्नेछ । हाल हिमालयन बैंकको ब्यालेन्स सिटको आकार १ खर्ब ७२ अर्ब र नेपाल इन्भेष्टमेन्टको ब्यालेन्स सिटको आकार २ खर्ब १६ अर्बको रहेको छ । दुवै बैंकले यहि असार मसान्तभित्र एकीकृत कारोबार सक्ने गरि मर्जरमा जाने तयारी गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार