सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै २ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा शुक्रबार साँझ ५ बजेसम्ममा ३ लाख ९० हजार १० जना आवेदकबाट ६५ लाख १३ हजार ९ सय २१ कित्ताको लागि आवेदन परेको हो । जुन माग भन्दा २.७८ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख १८ हजार २ सय ३० कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ता मेरो शेयर तथा सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रबर्धित सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड नेपालको प्रचलित कानुन अन्तर्गत मिति २०६६÷०८÷१५ गतेका दिन नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला का. म. न. पा. वडा नं. ११, त्रिपुरेश्वरमा रहेको छ । हाल यस कम्पनीमा २६५ संस्थापक शेयरधनीहरु रहेका छन् ।

कम्पनीले कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार