सरकारले देशभर लकडाउन नहुने स्पष्ट पारिसकेको छ। लकडाउन आवश्यक भए स्थानीय निकायले स्थान विशेषमा निषेधाज्ञा जारी गर्न सक्नेछन्। विभिन्न शहरमा निषेधाज्ञा नै जारी भएपनि यसले सेयर बजारमा ठूलो असर नपार्ने जानकारहरु बताउँछन्। तर, लगानीकर्ताहरु भने ‘प्रोफिट बुक’ गर्न खोज्दा आज बेच्नेको चाप देखिन्थ्यो।

लकडाउनको हल्लाका कारण नेपाली सेयर बजारमा आज ठूलो अंकको गिरावट आयो। नेप्से परिसूचक आज झण्डै ७६ अंक अर्थात ७५.८१ ले घटेर २५७२.२० को बिन्दुमा पुगेको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.५६ अंकले घटेर ४६४.०५ को अंकमा पुगेको छ। नेप्सेका सबै परिसूचक नकरात्मक रहेपनि आज विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य भने सर्वाधिक १० प्रतिशतले बढ्यो।

आज कारोबार भएका मध्ये जम्मा ६ वटा कम्पनीको मात्र मूल्य बढेको हो। जसमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, बिशाल बजार कम्पनी , कालिका पावर कम्पनी, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ,गुडविल फाइनान्स र एनएमबी हाइब्रिड फन्ड छन्। यसअघि लगातार सकारात्मक सर्किट लागेको ज्योति लाइफको मूल्य एक्कासी घटेको छ।

बजार बन्द हुँदा कम्पनीको शेयर मूल्य ८७३ रूपैँया प्रतिकित्ता पुगेको छ। त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य पनि घटेको छ। कम्पनीको शेयर मूल्य ५४१ रूपैँया प्रतिकित्ता पुगेको छ । कुल २१५ वटा कम्पनीको शेयर कारोबार हुँदा ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै नारायणी डेभलभमेन्ट बैंकका लगानीकर्ताले ७.६७ प्रतिशतले गुमाएका छन्।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार