काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट चैत्र २४ गते, मंगलबारसम्म १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।

उक्त आईपीओकाे बाँडफाँड वैशाख ३ गते, शुक्रबार सम्पन्न भइसकेकाे छ । ग्राेलाप्रथाद्वारा गरिएकाे वितरणमा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए । यसरी बाँडफाँड गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको थियाे । बाँडफाँडमा रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको थियाे ।

कम्पनीकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड सम्पन्न भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएकाे प्रश्न भनेकाे रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला ? रुरु जलविद्युत परियोजना लिमिटेडकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला ? जस्ता हुन् । त्यसैले, यहाँ हामी प्राय सबै लगानीकर्ताहरूमा चासाेकाे विषय बनेकाे रुरु जलविद्युत परियोजना लिमिटेडको ओपनिङ्ग रेञ्जकाे विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११८ रूपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार रुरु जलविद्युत परियोजना लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ११८ रूपैयाँ ८४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३५६ रुपैयाँ ५२ पैसा हुन्छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार