चर्को घाममा श्रमिकलाई काम लगाउने कतारका थप ४४ कम्पनी कारबाहीमा परेका छन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ४४ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घाममा काम लगाएको पाइएपछि कारबाही गरेको हो ।

मन्त्रालयले जुन ४ देखि ९ तारिखसम्म निरीक्षण गर्दा ती कम्पनीहरु कारबाहीमा परेको जनाएको छ । यसअघि पनि मन्त्रालयले जुन १ देखि ३ तारिखसम्म निरीक्षण गर्दा ५४ वटा कम्पनीहरु कारबाहीमा परिसकेका छन् ।

योसंगै घाममा काम लगाउने ९८ वटा कम्पनीहरु कारबाहीमा परिसकेको मन्त्रालयले जनाएको छ । कतारमा खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समयसीमा यसघि नै तोकेको थियो । खुल्ला कार्यक्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखि अपराह्‍न ३ बजे सम्मका अत्याधिक गर्मी हुने भएकाले श्रमिकहरूलाई बाहिर काममा लगाउन निषेध गरिएको छ ।

साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्ने गरी टाँसिएको हुनुपर्ने छ। गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ। कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार