धितोपत्र बोर्डले दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भइरहेका गुनासाका आधारमा छानबिन थालेको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तिमा दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भइरहेका गुनासा आएका र सो सम्बन्धमा अध्ययन थालिएको बताइएको छ ।

यो अध्ययन सकिन भने केही समय लाग्नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन समेत सबै लगानीकर्तालाई आह्वान गरेको छ । लगानीकर्ताहरुलाई देशको विद्यमान आर्थिक परिदृश्य, सूचीकृत संगठित संस्थाहरुको कार्यसम्पादनको आधारभूत विश्लेषण(प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्य सम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्थालाई समेत मूल्यांकन गरी लगानीको निर्णय लिन बोर्डले आग्रह गरेको छ ।

सेयर बजार बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने र यस्तो बेलामा लगानीकर्ता चनाखो बन्नुपर्नेमा बोर्डको जोड छ । बोर्डले सेयरमा लगानी गर्दा सम्बन्धित कम्पनीको सबै पक्षको विश्लेषण गर्न र लहै लहैमा नलाग्न समेत आह्वान गरेको छ । बोर्डले आफ्नै विज्ञप्तिमा ९० प्रतिशत बढीले घरमै बसेर अनलाइन सेयर कारोबार गरिरहेका, प्राथमिक र दोश्रो बजारमा लगानी गर्नेहरुको संख्या बढिरहेको उल्लेख गर्दै यसकै कारण कारोबार रकम र संख्यामा बढोत्तरी भएको स्पष्टीकरण समेत दिन भ्याएको छ ।

‘बजारको सिद्धान्त अनुरुप बजार घटबढ हुने हुँदा लगानीकर्ताले लगानी गर्दै गर्दा लगानीसँगै जोखिम पनि हुन्छ भन्ने ध्यानमा राखी जोखिम बहन गर्नसक्ने गरी लगानी गर्नुपर्ने व्यहोरा सबै लगानीकर्तालाई अनुरोध गर्न चाहन्छौं ।’-बोर्डले विज्ञप्तिमा भनेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार