चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी रू. १८ करोड ११ लाख २० हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी रकम बढेको छ । गत वर्ष यो अवधिसम्म कम्पनी रू. २ करोड १८ लाख ८ हजार नोक्सानीमा रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन आम्दानी घटेकाले खुद नोक्सानी बढेको देखिन्छ ।

गत वर्ष तेस्रो त्रैमाससम्म रू. ४१ करोड २२ लाख ११ हजार सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ४२ लाख २० हजार मात्र यो आम्दानी गरेको हो । सञ्चालन आम्दानी घटेको कम्पनीको कुल खर्च पनि घटेको छ । गत वर्ष रू. २३ करोड ४ लाख ७२ हजार कुल खर्च भएको कम्पनीको यस वर्ष रू. १७ करोड ६६ लाख ९ हजार मात्र खर्च भएको छ । गत पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी माघ २३ गते कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको थियो । माघ २५ गतेदेखि दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. २ हजार ४०९ रहेको छ ।

दोस्रो बजारमा लगानीकर्ताको आकर्षणमा रहेको यो कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ३२ करोड ८ लाख ३८ हजार ऋणात्मक रहेको छ । कम्पनीको कुल सम्पत्ति रू. ३ अर्ब ८२ करोड ५१ लाख २१ हजार रहेको छ भने कुल दायित्व रू. २ अर्ब ६१ करोड १८ लाख ६८ हजारको छ ।

यो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७९ दशमलव शून्य ९ रहेको छ भने प्रतिशेयर आम्दानी रू. ११ दशमलव ८१ नोक्सानीमा देखिएको छ । कोरोनका कारण व्यवसायमा असर परेको कम्पनीले जानकारी दिएको छ । तेस्रो त्रैमासको अवधिमा कम्पनीद्वारा सञ्चालित केवलकारमा औसतमा दैनिक १ हजार ४०० जना आगन्तुक र रिसोर्टमा औसत अक्युपेन्सी ४० प्रतिशत रहेको पनि कम्पनीले प्रष्ट पारेको छ ।

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार